ब्याक | होमपेज 

 

शब्दयात्रा                                   
 
घरमा शब्दहरूको आफ्नै तरङ्ग छ
म भुइँमा त्यसै खेलिराखकेका शब्दहरू
चलाउछु छोरासँग बोल्न ।
कोठामा असरल्ल छरिएका शब्दहरूलाई बोलाउँछु
आमासँग बोल्न ।
शब्दहरूको एउटा जमात जुट्छ प्रत्येक संवादमा ।
दराजका किताबहरूमा
जतन गरेर राखेको छु शब्दहरू अनन्तसम्म पुग्ने गरी ।

सडकमा शब्दहरूको अर्कै गाउँ छ ।
अभिवादन गर्छु हल्लाको बाढीमा डुब्दै-तैरँदै
गरिरहेका शब्दहरूलाई ।
हतारोले खेदिरहेका शब्दहरूसँग हात मिलाउँछु ।
विज्ञापनको महल बनाएर उभिएका शब्दहरू पढ्छु ।
चिटिक्क परेर नरम पदचापमा हिँडिरहेका
शब्दहरूलाई हेर्छु लोभिएर ।

गाउँदै शब्दहरू पुग्छु अर्को गन्तव्य ।

फाइलका चेपचेपबाट बोल्छन्
मलाई पर्खेर बसेका शब्दहरू मसँग ।
मेहेनतले बोकेर उचाल्नुपर्ने शब्दहरूको भीड छ ।
शब्दहरू बोक्छु ढाडमा र उक्लिन्छु एउटा पहाड ।
थाक्छु र ओर्लन्छु एकान्तमा ।

शब्दहरूको लेकबाट बेँसी झर्छु
शब्द बगेको तमोरको गडतिर हिँड्छु ।
प्रेम फुलेको बगैँचाबाट शब्दका थुँगा टिप्छु ।
आकाशका लट्टा परेका बादलसँग शब्दहरू माग्छु ।

जुन सहर पुग्छु नयाँ शब्दहरूको झ्याल खुल्छ ।
नयाँ बतास चल्छ शब्दहरूको ।
नयाँ चुल्ठो खुल्छ शब्दका घना केशराशिको
नयाँ नयनहरूसँग आँखा जुध्छन् ।

शब्दहरूको त्यो सुदुर गाउँ पुग्न हिँडिरहेछु ।
सधैँ जहाँ पुग्छु सुरु हुन्छ नयाँ गाउँ शब्दहरूको
सधैँ जहाँ हुन्छु खुल्छ नयाँ ढोका शब्दहरूको ।
 

                                                       ©सर्वाधिकार लेखकमा सुरक्षित        

Hosted by www.Geocities.ws

1