| |
खेतहरू
यी खेतहरू
कतै नहिँडी पनि
गतिमान रहन्छन्
शताब्दीका यति लामा सडकहरूमा ।
शुभ्र बादलहरू
तोरणझैँ टाँगिन्छन्
खेतहरूमाथि
झर्छन् पानीका बुँदहरूमा
र नुहाइदिन्छन् खेतहरूलाई सिनिक्क ।
नीलो आकाश
घोप्टिएर बोलिरहन्छ मौन ।
त्यति टाढाबाट धाएर आउँछ उज्यालो ।
आउँछ बतास
र खेल्छ माटाका डल्लाहरूसँग ।
खेतमा दिन, साँझ, बिहान
र रात लेखिन्छ ।
हरिया हरफहरू बन्छन् ।
यहाँ उभिएका पोथ्राहरूसँग
जिस्की बस्छन् खेतहरू ।
र हेरिरहन्छन्
आँखाका डिलबाट
बगिरहेको नदीको प्रवाह ।
नबगीकनै पनि निरन्तरको
प्रवाह छ खेतहरूमा ।
सरल, सरस आनन्दको
रङ छ खेतहरूमा ।
सदा कञ्चन सद्भावका
ध्वजाहरू छन् खेतहरूमा ।
खेतहरू कहिल्यै बहकिएनन्
चोक, सहर र बजारका रङ्गीन हल्लाहरूमा ।
कहिल्यै बोलेनन् चर्को स्वर
कसैको विरोधमा ।
म अचम्भित छु ।
र पनि खेतहरू लामो
हिँडिसकेछन् ।
खेतहरू शताब्दी दौडिसकेछन् ।
जीवनका सपाट पाटाहरूझैँ
आफूलाई कुनै उत्ताउलो
पहिरनमा नबाँधी
सधैँ बहसोन्मुख नगराई
आधुनिक भइसकेछन् खेतहरू ।
र उत्तरआधुनिक पनि भइसकेछन् खेतहरू ।
|