|
कला
म निर्माणरत छु एउटा घर
मेरो चित्रमय मनोदशाको खण्डहरूमा
खप्टेर बसिरहेका संवेगहरूको
इटा, ढुङ्गा, बालुवा र पानी मिसाएर,
पीडामा, दुखका,
गिला र सारा
सबैखाले रङ्गका कलात्मक बुट्टाहरू भरेर
घरको आधारशिला र त्यसभन्दा
माथि
भित्ताहरू उठाइरहेछु ।
सबै अङ्गहरूलाई
शृङ्खलामा
राखेर हेरिरहेछु ।
औँलाहरू घोटेर श्रीखण्डजस्तै
तिनीहरूलाई चिल्याइहेछु ।
घर-परिसरभित्रै फूल फुलाउने
बगैँचा अटाउनु छ ।
घरभित्रै शिशु रहरहरू सुताउने
बिस्तारा अटाउनु छ ।
बिदा भएका परिवारजन र मित्रहरूका
स्मरण पट्याएर राख्ने दराज अटाउनु छ ।
कहिलेकाहीँ आँगनमा
क्षणिक
उभिएर बाटो लाग्ने खुसीहरू
कहिलेकाहीँ स्थिर बसिरहने
बलिष्ठ अँध्यारा निराशाहरू
कहिलेकाहीँ मनलाई डसेर मार्न खोज्ने
कपटी लालसाहरू
सबैलाई अटाएर राख्नु छ ।
सबैखाले रङ्ग र रागहरूलाई थुनेर
चारै कुनामा घरको राखिसकेपछि
जब घरले पूर्ण आकार लिनेछ
र सशरीर उभिनेछ मेरा अगाडि
म उसको पाउ समाउनेछु
मुन्टो राखेर चरणमा उसको
धित मरुन्जेल ढोग्नेछु ।
|