|
काव्यबोध
पानाको
सपाट पृष्ठभूमिबाट
अपलक हेरिरहेछ
एउटा आकर्षक अनुहार ।
सधैझैँ म
हिँडिरहेछु
एउटा आकारमा
र आज पनि
कहीँ पुग्नुपर्ने आग्रहले
चलाइरहेछ मेरा खुट्टाहरू
मेसिनको कुनै पुर्जाजस्तो ।
पहिलो हेराइमा लज्जानत
अनुहार
अहिले बादल फाट्तै गरेको
आकाशजस्तो खुलिरहेछ ।
बिस्तारै उठिरहेछन् उनका आँखाहरू
अक्षरमा आकारित ओठहरू
शब्दमा आकारित वक्ष
एउटा समृद्ध रूप
मलाई खिचिरहेछ त्यता ।
म पढिहेर्छु ।
स्वाद लिन
निलिहेर्छु ।
मदोन्मत्त हुन
पिइहेर्छु ।
र्स्पर्श अनुभूत गर्न
छोइहेर्छु ।
त्यहीँनेरै संवादको क्षण बन्छ ।
प्रेमको क्षण बन्छ ।
अपूर्व मिलनको क्षण
बन्छ ।
|