|
झ्यालबाहिरबाट
आत्तिएर छिर्यो कोठामा
झ्यालबाहिरको हावा ।
मैले छामेँ हावाको शिर
अथाह उद्विग्नताले तातिएको छ ।
अनुहारको आकाशमा धुवाँ छ त्रासको ।
ओठ सुकेर फुस्रा छन् ।
पसिनाका दानाहरू फुलेका छन् निधारमा ।
कामिरहेछन् गोडाहरू ।
दुखद समयका छिटाहरू छन् शरीरभरि ।
सधैँ जीवन भरेर हिँड्ने
हावा
उसको आफ्नै श्वासमा मृत्युले चिमोटिदिएको घाउ छ ।
यति सहज बगिरहने हावा पनि
कोठामा आएर लुकिदियो ।
बग्न मानेन ।
खुम्चेर बसिरह्यो ।
मैले हावाका आँखामा हेरिरहेँ
र एउटा नीलो आकाशको तलाउ खोजिरहेँ।
|