| |
हावाको सङ्गीत
दिनभर मिनेट र सेकेन्डहरू
चिच्याइरहन्छन् ।
एउटा कोलाहलको अनुहार
मलाई हेरिरहन्छ ।
तर म हावाको सङ्गीत सुनिरहेछु ।
चिसो, मृदु हावा
मेरो जीवनको सेवा गरिरहेछ ।
कलिला ओठहरू भएको जीवनलाई
सुम्सुम्याइरहेछ ।
मृत्युको आँगनमा उभिएको
वृद्ध जीवन चुमिरहेछ ।
बूढो मान्छेसँग बूढै हावा छ ।
नवजात शिशुसँग कलिलो हावा छ ।
युवकसँग
बैँसालु हावा छ
।
रुखसँग अग्लो हावा छ ।
पातहरूसँग हरियो हावा छ ।
आफ्ना औँलाहरूले छोइरहेछु
सिरसिर चलेको यो हावाको
सङ्गीतका ओठहरूलाई ।
सबै कोलाहलहरूलाई खेदाएर
फर्कन्छु म
साँझको यो बार्दलीमा
र सुनिरहन्छु हावाको सङ्गीत ।
|