|
गाउँ हराएको गाउँ
गाउँ हराएको गाउँ
मलाई कुनै आग्रहले ठेलेको पनि होइन ।
कुनै ज्ञानले डोर्याएको पनि होइन ।
म त कुनै गुलियो सपना चुसिरहेको थिएँ ।
कतै अन्तै पुग्ने लोभ ओढिरहेको थिएँ ।
यो सोच्तै नसोचिराखेको ठाउँमा
यो रूप हराइसकेको दुर्दान्त गाउँमा
म कसरी आइपुगेँछु -
गाउँ पस्ने ती भोला बाटाहरूले त
पक्कै ल्याएनन् मलाई यहाँ ।
जहाँ जान म कहिल्यै हिँडिनँ
।
जहाँ देखिरहेका दृश्यहरू कुनै छैनन् ।
जहाँ गीत गाउने
श्वरबाट
कुनै कर्कश आवाज उठिरहेछ ।
फूलका हाँगाहरू नाङ्गा तारहरूजस्ता लागिरहेछन्
।
बादलहरू कालो बोकेर दौडिरहेछन् ।
सघन संवेदना बोल्ने कविता
मन गाउने गीत
मान्छे कोरिएको चित्र
आक्रोशको
विद्रुप
वजनमुनि थिचिएका छन् ।
पुग्छु भनेर कहिल्यै
हिँड्दै नहिँडेको ठाउँमा
कसरी आइपुगेँछु -
जहाँ गाउँले घरहरू हुनुपर्थ्य़ो
।
धुलोको रङ दलिएका केटाकेटीहरू हुनुपर्थ्य़ो ।
अनुहारमा इतिहास बोकेका
बूढापाकाहरू हुनुपर्थ्य़ो
।
आकाशका ताराहरू टिप्न आतुर तरुनीतन्नेरीहरू हुनुपर्थ्य़ो
।
आनन्दको सप्तरङ्गी इन्द्रणी हुनुपर्थ्य़ो ।
स्नेहको एउटा कुवा हुनुपर्थ्य़ो ।
नीलोको समुद्र बोकेको आकाशको छानो हुनुपर्थ्य़ो
।
केही पनि छैनन् गाउँमा ।
मृत्युजस्ता चिसा ढुङ्गाहरू छन् ।
यातनागृहहरू छन् ।
गाउँको लय विस्थापित गाउँमा
म पुग्न कहिल्यै हिँडेको थिइनँ
।
टेकेर यो धाँजा फाटेको भुइँ
सोधिरहेछु गाउँलाई
गाउँको धुलो गाउँमा
कहिले फर्कन्छ ?
|