ब्याक | होमपेज   

  छोडिएकाहरू

सँगै ल्याउनुपर्थ्य़ो
ती दिनका किरणहरूलाई
मसँगसँगै हात समाएर
छोडिए आकाशमा त्यतै ।

सँगै ल्याउनुपर्थ्य़ो

निन्द्रामा फुल्ने सपनाहरूलाई
आँखामा थपक्क राखेर ।
ल्याउन सकिएन यहाँसम्म ।

ल्याउनुपर्थ्य़ो ती मइनजस्ता ओठहरूलाई
टाँसिराखेर अग्रभागमा मुखको ।

ल्याउनुपर्थ्य़ो आँखामा चम्किने
अबोध उज्यालो
नचुहाई कतै पनि ।

जोगाउनुपर्थ्य़ो
त्यो हलुका बतास मस्तिष्कको ।
ल्याउनुपर्थ्य़ो सुरक्षित ।

शरीरमा थिए
गुराँस फुलेजस्ता मांसपिण्डहरू
बताससँग मुन्टो भाँचेर नाच्थे ।
छोडिए पाइलाहरूसँगै ।

छाला थियो पुष्पगुच्छाजस्तो ।
झरेछ बाटामा ।

खै केही पनि आइपुगेनछ यहाँसम्म ।
विपूल वैभवको शालीन घरै छाडिएछ ।

सँगै आइपुगेको छ
या त एउटा टोक्ने जाडो
या डढाउने तातो ।
सँगै आइपुगेको छ
या घोसे  अँध्यारो
या आँखाको ज्योति नै डढाउने उज्यालो ।

असन्तुलनको अनकन्टारमा
सबै पृय क्षणहरूले छाडेको भुताहा घरलाई
रुँगिरहेछ एउटा धिपधिपे मन ।
पहरा दिइरहेछ एउटा तन्नेरी मृगतृष्णा ।


 

                                                                ©सर्वाधिकार लेखकमा सुरक्षित

Hosted by www.Geocities.ws

1