ब्याक | होमपेज 

 

वृक्ष वृक्षवत् उभिएको छ
 
वृक्ष उभिएको छ वृक्षत्
एउटा बाटाभरि आफूलाई छरिसकेपछि
बटुलेर फेरि
टक्क अडिएको छ ।
सानो बिरुवा थियो ऊ ।
हाँगाहरूमा झ्याम्मियो ।
हाँगाका हाँगाहरूमा एक्लियो ।
यतिका हिँडाइहरू हिँडे यात्राभरि ।
फेरि हिँडेर आफैँसमीप पुग्नलाई
एउटा सहज सडक खोजिरहेछ ।
यतिका कुदाइहरू कुदिसके मनबाट ।
फेरि एउटा नूतन कुदाइ
ढिपी गरिरहेछ कुद्न ।
आफूभन्दा, सबैभन्दा टाढाको दूरी आफैँ रहेछ ।
उकाला सिँढीहरूसँगको झगडाको शृङ्खला
काँढाहरूसँगको विवादसँगको शृङ्खलामा
उसमाथि उमेर चढ्यो ।
बूढोपन बिनाअनुमति पस्यो ऊ भित्र ।
तेर्सोहरूसँग कुरा गर्दै
हिँडेर वृक्ष त्यहीँ छ ।
पुगेको छैन कतै ।
आफूबाट तप्पतप्प चुहिरहेको समय
उठाएर एकछिन आफूनजिकै राख्न आफूलाई
नसकेको तीतो छापेर जिब्राभरि
वृक्ष एउटा प्रवाहको प्रतीक
उभिरहेछ ।
वृक्षवत् उभिएको छ ।


 

                                                                ©सर्वाधिकार लेखकमा सुरक्षित

Hosted by www.Geocities.ws

1