| |
बिहान
हिँडेर बिहानसम्म
समय चैतमा चलेको हुरीजस्ते
बतास्सिएर आएको थियो त्यहाँसम्म
र पोतिएको थियो
आकाशमुनि थुप्रिएको कालो धब्बा अँध्यारामा ।
स्वरहरू विस्मृतिमै थिए
विचारको ज्योत्स्ना
निद्रामा थियो ।
जीवनको बोट उम्रिएकै थिएन ।
सभ्यताको यात्रा गुँडुल्किरहेको थियो ।
एउटा चिल्लो अँध्यारो
हुर्किरहेको समय
बिहानै आयो
बिहानको स्निग्ध रूप ।
चटपटायो ताजगी
नदीका किनारहरूमा
खेतका विस्तीर्ण छातीहरूमा
र हिउँको बख्खु ओढेका हिमालहरूमा
एउटा महाअभियानको सुन्दर आरम्भलाई
चराहरूले पखेटामा टाँसेर उडे ।
र बिहानका शीतल ओठहरूले
गाइरहे बिहानलाई ।
बिहान आएर उठायो बिहानलाई,
र मुसार्यो बिहानका प्रिय क्षणहरूलाई
उचाल्यो पाइलाहरू
लडिबुडी गर्यो बिहानी घामको
न्यानामा ।
हिँड्यो
मध्याह्नको उत्ताप गर्मीतिर
लग्यो बादलतिर र ओझेलतिर ।
लग्यो साँझको धमिलोतिर
र हुल्यो रातको कालो सुरुङमा ।
निभायो आफैँ बलेको जीवनको बत्ती आफ्नो
मेट्यो जीवनका सुन्दरतम पाइलाहरूलाई
र पुग्यो एउटा अवसानको रात ।
रातले लायो सबभन्दा कालो कपडा
र कुद्य़ो कालैकालो रातको किनारसम्म ।
अर्को दिन उठ्यो उज्यालो बिहानै ।
फेरि बज्यो आरम्भको धुन ।
र बिहानै आयो बिहानको स्निग्ध रूप ।
|